धनगढी पोष्ट
शुक्रबार, १० बैशाख २०७८ मा प्रकाशित
धनगढी
टीकापुर घटनामा उच्च अदालत दिपायलबाट आजिवन कैद सुनाईएका थारु नेता लक्ष्मण थारुले बर्तमान सरकारले थारुहरुसंग वार्ताको नौटंकी गरिरहेको बताएका छन् । उनले सत्तापक्षले अहिले पनि थारुहरुसंग मतभेद गर्न चाहेको बताए ।
उच्च अदालतको फैसला पछि भुमिगत जस्तै रहेका लक्ष्मण थारुले शुक्रबार धनगढीको एक ठाउँमा पत्रकार संग कुरा गर्दै बर्तमान सरकारको गतिबिधि हेर्दा वार्तामा बस्नुको कुनै औचित्य नरहेको बताए । उनले भने–‘टीकापुर घटना पछि गठन भएको लाल आयोग र देबीराम शर्माको प्रतिबेदन सार्वजनिक गरेर मात्र वार्ताले निकास पाउँछ, नभए कुनै औचित्य छैन ।’
यदि सरकारले बार्ता गर्न नै चाहेको भए रेशम चौधरीलाई जेलबाट वाहिर निकालेर उनैसंग बार्ता गर्नु पर्ने लक्ष्मणको भनाई छ । उनले भने–‘यदि सरकारले थारुहरुको समस्या वार्ताबाट समाधान गर्न खोजेको हो भने गृहमन्त्रीले होईन प्रधानमन्त्री स्वयंले बार्ता गर्नुपर्छ ।’
‘टीकापुर घटना र माननिय रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेन संग जोडनु हुदैन’ लक्ष्मणले भने–‘टीकापुर घटनामा लगाईएका झुटा मुद्धा फिर्ता लीन मिल्छ र सरकारले फिर्ता लिनुपर्छ ।’ उनले आफ्ना माग पुरा गराउन बैशाख १६ गतेबाट तेस्रो चरणको अभियान सुरु गरिने बताए । उनले भने–‘बिरोध प्रर्दशन र बिरोध सभा सहित बैशाख १६ गते नवलपरासीबाट सुरु हुने अभियान २० गते कंचनपुरको बेलौरीमा समापन गरिने छ ।’
उच्च अदालतको फैसला न्यायपुर्ण नभएकाले सर्वोच्च अदालतमा अपिल दर्ता गराएको लक्षमण थारुले जानकारी दिए । उनले भने–‘सडक आन्दोलन संगै न्यायीक आन्दोलन पनि अघि बढाएका छौ, सर्बोच्चले न्याय दिन्छ भन्नेमा बिश्वस्त छौ ।’