धनगढी पोष्ट
शुक्रबार, ०५ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा शुक्रबार मात्रै एक सय ६८ कोरोना संक्रमित थपिएका छन् ।
सेती अस्पतालको प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशालामा गरी सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीनवटा प्रयोगशालामा भएको परीक्षणका क्रममा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ६८ पुष्टि भएको बताएका हुन् ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा १ सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ५ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका एक महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका एक महिला र चार पुरुष गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । यस अघि शुक्रबार दिउासो सेती अस्पताल धनगढीको प्रयोगशालामा १२ जनामा संक्रमण भएको पुष्टि भएको थियो ।
सुदूरपश्चिममा संक्रमितको संख्या ७ सय ८५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका २ सय २, डडेल्धुरामा १ सय ३२, बैतडीमा एक सय २०, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, डोटीका ६१, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन् ।