धनगढी पोष्ट
सोमबार, ०३ जेठ २०७८ मा प्रकाशित
धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई एक शय सिलिन्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ ।सोमबारसम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भईरहेको छ ।
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको सहकारीले स्थापना गरेको किसान अक्सिजन बैंक मार्फत सहकारीले सिलिण्डर हस्तान्तरण गरेको हो । सहकारीका सन्चालक समिति सदस्य सरोज कुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरे ।
किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरामीहरुलाई सहज अक्सिजन आपुर्तिका लागि किसान अक्सीजन बैंक सन्चालनमा ल्याएको छ । अक्सिजन बैंक मार्फत कैलालीका अस्पतालहरुलाई अक्सिजन आपुर्ति गर्दै आएको सन्चालक सदस्य शाहले बताए ।
सहकारी संस्थाले सन्चालन गरेको अक्सीजन बैंकले यस अघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिन्डर उपलब्ध गराई सकेको छ । स्थानिय अस्पतालहरुमा सिलिन्डर अभाव हुन नदिन संस्थाले अन्य संस्थासंगको सहकार्यमा खाली सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी गराए ।