धनगढी पोष्ट
मङ्गलबार, ०४ जेठ २०७८ मा प्रकाशित
काठमाडौं । शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दायर रिटहरूको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा तोकेका छन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्रराज ढकालले प्रधानन्यायाधीशको इजलासमा पेशी तोकिएको जानकारी दिए ।
अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सन्तोष भण्डारी, नवराज अधिकारी र अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।
रिटको सुनुवाइ सुरु भइसकेको छैन । रिटमा प्रधानमन्त्रीले शपथ लिँदा केही शब्द नै उच्चारण गर्न नपर्ने भनेकोले यो शपथ पूर्ण नभएकाले तत्काल पुनः शपथ लिनु भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने छ । संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न पनि रिट निवेदकहरूको माग दाबी रहेको छ ।
त्यस्तै संघीय संसदको सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा पटक पटक मन्त्री बनाइएको भन्दै उनीहरूको नियुक्ति पनि बदर गर्न माग गरिएको छ ।