धनगढी पोष्ट
बिहिबार, ०६ जेठ २०७८ मा प्रकाशित
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टीको निर्देशन नमानेको ठहर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बिहीबार बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्चावनमा पार्टीका आधिकारिक उम्मेदवारलाई नेपाल पक्षले मत नदिएकोप्रति गम्भीरतापुर्वक लिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
उनले बैठकपछि भने, “पार्टी निर्देशनको अवज्ञा कतिपय नेता तथा जनप्रतिनिधिबाट भएको छ । बैठकले यसलाई गम्भीरतापुर्वक लिएको छ ।” पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान नगरी अर्को उम्मेद्वारलाई मत दिने कार्यलाई बैठकले भत्र्सना गरेको ज्ञवालीले बताए ।
बादललाई मत नहाल्ने कदमले पार्टी एकतालाई नै असर पुरयाउँछ कि भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले त्यो धेरै गम्भीर कुरा हुने बताए । ‘किनभने, त्यसभन्दा अघि गरिएका कुराहरुलाई त, विवाद शुरु भइसकेको थिएन । कार्यदल बनिसकेको थिएन भनेर एक ढंगले हेर्न सकिएला । जेठ २ लाई ‘कट अफ डेट’ मानौ ं। जेठ २ मा कार्यादल बनिसकेपछि त्यसभन्दा अगाडि र पछाडिका कुरालाई एउटै आँखाबाट हेर्न मिल्दैन । एउटै स्टान्डर्डबाट हेर्न मिल्दैन । यो विषयलाई हामीले असाध्यै गम्भीरतापुर्वक लिएका छौं,’ उनले भने ।
एमालेको तर्फबाट राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री थापा प्रत्यासी थिए । विपक्षी गठबन्धनले माधवकुमार नेपाल निकट खिमलाल देवकोटालाई उम्मेद्वार बनाएका थिए ।
बिहीबार भएको निर्वाचनमा एमालेका कतिपय प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखर उपप्रमुखले देवकोटको पक्षमा मत दिएको बताइएको छ।
यसअघि एमालेभित्रको विवाद समाधानका लागि एमालेले १० सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलको बैठक आज साँझ ५ बजेका लागि तय भएपनि बस्नेरनबस्ने निश्चित छैन।