धनगढी पोष्ट
शनिबार, ०८ जेठ २०७८ मा प्रकाशित
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफु अनुकुल प्रयोग गरिरहेको बताएका छन् ।
देउवाले आफुले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १ सय ४९ जना सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गर्दा पनि राष्ट्रपतिले आफुलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गरेको भनी आपत्ति प्रकट गरेका छन् ।
‘बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’ देउवाले शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपतिको कदमको कडा आलोचना गरेका छन् ।
देउवाले नेपालको संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र नभई अनैतिक पनि भएको देउवाको जिकिर छ ।