धनगढी पोष्ट
आइतबार, ०७ असार २०७७ मा प्रकाशित
धनगढी,
सुदूरपश्चिम प्रदेशमा पाँच दिनपछि भिटिएम ल्याएपछि रोकिएको स्वाव संकलन आजदेखी पुनः सुरु भएको छ । शनिबार संघिय सरकारले दुई हजार भिटीएम किट सुदूरपश्चिम पठाएको थियो भने प्रदेश सरकार अन्तरगतको आपूर्ति शाखाले एक हजार भिटीएम किट खरिद गरेको थियो ।
भिटीएक उपलब्ध भएसंगै रोकिएको स्वाव संकलन आजदेखी पुनः सुरु गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले प्रदेशका ९ वटै जिल्लामा रहेका क्वारेण्टाईनलाई मध्यनजर गरी स्वाव संकल कार्य सुचारु गरिने बताए ।
‘भिटीएम अभाव भई स्वाव संकलन रोकिदा क्वारेण्टाईनमा रहेका नागरिक लामो समय सम्म बस्न बाध्य भएका छन्’ सूचना अधिकारी श्रेष्ठले भने– ‘त्यसैले क्वारेण्टाईन केन्द्रित भएर स्वाव संकलन थालिने छ ।’
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भिटिएम पठाएको बताए । यस्तै सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि एक हजार भीटीएम खरिद गरेको उनले बताए । भिटिएमसंगै कोरोना परिक्षणका लागि आवश्यक पर्ने अन्य स्वास्थ्य सामाग्री पनि सुदूरपश्चिम भित्रिएको उनले बताए ।
प्रदेश सरकारसंग भिटिएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन ।