धनगढी पोष्ट
आइतबार, ०९ जेठ २०७८ मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं माधव कुमार नेपाल निकट नेता युवराज ज्ञवालीले एमाले एकीकरणको अथक प्रयास सफल नभएकाले आफुहरु नयाँ पार्टी दर्ता गर्ने निचोडमा पुगेको बताएका छन् । चाँडै यसबारे औपचारिक निर्णय हुने समेत उनले बताए ।
“हामीले एमालेमा रहेर जे जति संघर्ष गयौं एमालेलाई एकतावद्ध राख्नु पर्छ भनेर अन्तिमसम्म जति पहल गर्यौं, त्यो संसद विघटन भएर मध्यावधितिर हाम्फाल्ने अवस्था रोक्न सकिन्छ कि भनेरै थियो” ज्ञवालीले भने, “अब त्यही भइसकेपछि एकीकरणको पहलको अर्थ देखिएन । हामीले जति नै इमान्दारिपूर्वक पहल गरे पनि उहाँ (केपी ओली) ले हामीलाई अल्मल्याएर अर्को प्रतिगमन गर्ने दाउ मात्र हेरिरहनु भयो ।”
एकीकरणका लागि आफुहरु अन्तिमसम्म प्रयासरत रहेको बताउँदै उनले ओलीले आफुहरुलाई अल्मल्याएर अर्को प्रतिगमन गर्ने र धोका दिने कार्य निरन्तर गरेको आरोप लगाए ।
“अब त समस्या समाधान होला भनेर कार्यदल बनाइयो, कार्यदल बनेपछि चिज सहज दिशातिर जानुपर्ने थियो” उनले भने, “तर, त्यसपछि त उहाँ झन उल्टो दिशामा हिँड्न उद्यत हुनुभयो । हामी अब उल्टो बाटो हिँड्दैनौं ।”
आफुहरु नयाँ पार्टी दर्ता गर्ने दिशामा अघि बढिसकेको उल्लेख गर्दै उनले भने, “अब अन्तिम निर्णय हुन बाँकी छ, त्यो पनि छिटै होला ।”
ज्ञवालीले नयाँ गठन हुने पार्टीले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने दाबी गरे । उनले भने, “हामी सम्भव भए जति कम्युनिष्ट पार्टीहरुलाई समेटेर कम्युनिष्ट आन्दोलनलाई नै एकीकृत गर्ने प्रयासमा लाग्नेछौं ।”