धनगढी पोष्ट
आइतबार, ०९ जेठ २०७८ मा प्रकाशित
काठमाण्डौं । नेकपा (एमाले ) का दुई पक्षबीच विवाद चर्किरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा ९एकीकृत० नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्। उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कमल राखिएको छ ।
राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्व विद्यार्थी नेता हुन् ।
संखुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।
राईले भने, ‘जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु ।’
उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐन विक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन् । कार्यसमिति २५ सदस्यीय छ ।
स्रोतका अनुसार शनिबार बसेको एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो ।
एमाले फुटको संघारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण ठानिएको छ ।
आइतबार प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकासँग अन्तर्वार्तामा पनि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने निर्णयमा पुगिएको बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चुलिँदै जाँदा नेपाल पक्ष नयाँ दल खोल्नेसम्मका छलफल गरिरहेका छन् ।
‘यो विवाद धेरै लामो समयदेखि चल्दै आएको छ । तल्लो तहका कार्यकर्ताबाट पनि नयाँ दल खोल्नका लागि दबाब छ,’ नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने, ‘ढिलोचाँडो नयाँ दल खुल्छ । अहिलेको संरचना पनि त्यसैको अभ्यास हो ।