धनगढी पोष्ट
बुधबार, १२ जेठ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले पार्टीको निर्णय सबैलाई पुगिसकेको र निर्णय नमान्नेहरुलाई कारवाही हुने बताएका छन् ।
‘पार्टी निर्णयको जानकारी उपलव्ध साधनका माध्यमबाट सबैलाई गइसकेको छ ।’ प्रदेश अध्यक्ष थापाले भने ‘फेरि पनि कसैले निर्णयलाई मान्दैन भने पार्टी बिरोधी कार्य हो ।’
नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सुदूरपश्चिम सरकारबाट मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिने निर्णय गरेको थियो ।
तर नेकपा एमाले सुदुरपश्चिम संसदिय दलको बुधबार बसेको बैठकले पार्टीको निर्णय आइनसेको भन्दै बर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
अध्यक्ष थापाले संसदिय दलले गरेको निर्णय हेरेर पार्टी निर्णय बिपरित काम भएको छ भने कारवाही गरिने बताए ।
‘एमालेमा रहने चाहनेहरुले एमाले पार्टीको निर्णय मान्नु पर्छ । नेतृत्व मान्नु पछृ, नीति मान्नु पर्छ ।’ अध्यक्ष थापाले भने – ‘यदि कसैलाई मान्नु छैन भने त्यसमा हामीलाई केही भन्नु छैन ।’
सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । माओवादीका नेता त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारमा अहिले नेकपा एमालेका तीन मन्त्री छन् । नेकपा माओवादीका मुख्यमन्त्री सहित २ मन्त्री छन् ।
सुदुरपश्चिम प्रदेश सभामा नेकपा एमालेक २५ प्रदेश सभा सदस्य र नेकपा माओवादीका १३ प्रदेश सभा सदस्य छन् ।
२०७४ मा निर्वाचन अघि नेकपा एमाले र नेकपा माओवादी मिलेर चुनाव लडेका थिए । त्यसपछि सुदुरपश्चिम प्रदेशमा एमालेको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बनेको थियो । दुवै पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनाएका थिए । तर अहिले एमाले र माओवादी पार्टी अलग अलग भैसकेपछि एमालेले समर्थन फिर्ता लिएको हो ।