धनगढी पोष्ट
बिहिबार, १३ जेठ २०७८ मा प्रकाशित
धनगढी । कोरोनाको संक्रमणमा परेका सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।
उपचारकै क्रममा रहेका मल्लको काठमाडौ स्थित निदान अस्पतालमा आज (बिहीवार) बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।
लामो समयदेखि निमोनियाको उपचार गराइरहेका कैलालीको भजनी नगरपालिका –१ का वासिन्दा मल्ललाई कोरोना संक्रमण पटि पुष्टि भएको थियो ।
पञ्चायत कालमा बि. सं. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य भएका मल्ल २०७० सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । मल्ल संघीयताको कार्यान्वयनपछि २०७४ मा सुदुरपश्चिमको पहिलो प्रदेश प्रमुख भएका थिए ।
२०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए ।