धनगढी पोष्ट
बिहिबार, १३ जेठ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेले फिर्ता आउन दिएको निर्देशन संसदिय दलले नमानेर जोगिएको सुदुरपश्चिम सरकारको मन्त्री मण्डल बिस्तार हुने भएको छ । बजेट आउनु भन्दा पहिले नै केही नयाँ अनुहारलाई ठाउँ दिएर मन्त्रीमण्डल बिस्तार गर्ने तयारी भैरहेको छ ।
‘चाँडै केही नया अनुहारले मन्त्रीमण्डलमा जिम्मेवारी पाउँदैछन् ।’ श्रोतले भन्यो– ‘लामो समयदेखि खाली रहेका मन्त्रालय पुरा गर्न र नयालाई जिम्मेवारी दिन मन्त्रीमण्डल हेरफेर हुन लागेको हो ।’
नेकपा एमालेले सरकारबाट फिर्ता आउन दिएको निर्देशन नमानेर बुधबार बसेको संसदिय दलको बैठकले यथास्थितिमा सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको थियो । त्यस लगत्तै सुदुरपश्चिम सरकारको मन्त्रीमण्डल बिस्तारको तयारी शुरु भएको हो ।
गत सोमबार बसेको एमालेको स्थायी समितिको बैठकले सुदुरपश्चिममा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो ।
सरकारबाट फिर्ता आउन दिएको निर्देशन नमान्नेहरुलाई कारवाही गर्ने चेतावनी एमालेले दिंदै आएको छ ।
श्रोतका अनुसार मुख्यमन्त्री आफैले हेरिरहेको भौतिक पुर्वाधार पुर्वाधार बिकास मन्त्रालयमा नयाँ मन्त्रीले जिम्मेवारी पाउनेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जम्मेवारी पाएका एमाले संसदिय दलका नेता प्रकाश शाह आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा कायमै रहेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी छोड्ने सम्भावना रहेको छ ।
त्यसबाहेक केही राज्यमन्त्रीहरु पनि थपेर जिम्मेवारी दिने तयारी भैरहेको छ । सहायक मन्त्रीहर भने थपिने छैनन् । थपिनेमा धेरै जसो एमालेका रहने र नेकपा माओवादीका केहीले जिम्मेवारी दिने तयारी भैरहेको छ ।
पार्टीभित्र लाइनको दुरी बढेपछि भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहरा र आर्थिक मामिला ताथ योजना मन्त्री झपट बोहरलाले राजीनमा दिएपछि लामो समय ती दुई मन्त्रालयलाई मुख्यमन्त्रीले आफै मातहत राखेका थिए । केही दिन अघि मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले नै आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समेत पाएका छन् ।
सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । माओवादीका नेता त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारमा अहिले नेकपा एमालेका तीन मन्त्री छन् । नेकपा माओवादीका मुख्यमन्त्री सहित २ मन्त्री छन् ।
सुदुरपश्चिम प्रदेश सभामा नेकपा एमालेक २५ प्रदेश सभा सदस्य र नेकपा माओवादीका १३ प्रदेश सभा सदस्य छन् ।
२०७४ मा निर्वाचन अघि नेकपा एमाले र नेकपा माओवादी मिलेर चुनाव लडेका थिए । त्यसपछि सुदुरपश्चिम प्रदेशमा एमालेको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बनेको थियो । दुवै पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनाएका थिए । तर अहिले एमाले र माओवादी पार्टी अलग अलग भैसकेपछि एमालेले समर्थन फिर्ता लिएको हो । तर एमालेको सुदुरपश्चिम संसदिय दलले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको छ।