धनगढी पोष्ट
शुक्रबार, १४ जेठ २०७८ मा प्रकाशित
धनगढी । कार्य तालिका निर्माण गरेर बिरामीको उपचार थालेपछि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार सेवा सहज बनेको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद जोशीले बताएका छन् ।
कोरोना संक्रमणको दोश्रो लहर फैलिदै जाँदा बैशाखमा सेती प्रादेशिक अस्पतालमा व्यवस्थापन राम्रो नभएर उपचार सेवा प्रभावित बनेको गुनासो बढेको थियो । जसका कारण अस्पताल व्यवस्थापन समितिले जेठ ९ गते देखि एक हप्ताको कार्यतालिका निर्माण गरेर काम गर्ने योजना बनाएको थियो ।
कार्यतालिका अनुसार काम गर्दा सेवा सहज बनेको र बिरामीले सहजै उपचार पाउने वातारवरण बनेको अध्यक्ष जोशीले बताए । ‘अहिले विरामीले सहजै बेड पाएका छन्’ शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष जोशीले भने– ‘बिरामीको राम्रो रेखदेख समेत भएको छ, ४८ घण्डामै पिसिआर रिपोर्ट उपलब्ध भइरहेको छ ।’
उनका अनुसार हाल कोरोना इमरजेन्सी वार्डमा १२ जना स्टाफ नर्स, ४ जना अधिकृत र १२ जना मेडिकल अधिकृतलाई खटाइएको छ । हाल सेती अस्पतालमा जम्मा ४२ जना कोरोना संक्रमित भर्ना भएकामा १५ जना आइसियु तथा २ जना भेण्टिलेटरमा उपचाररत रहेका उनले बताए । उनका अनुसार पछिल्लो समय अक्सिजको सहज व्यवस्थापन भएको छ । ८० प्रतिशत औषधी अस्पतालले सञ्चालन गरेको फार्मेसिबाटै उपलब्ध भइरहेको छ ।
अध्यक्ष जोशीका अनुसार अस्पतालमा ठाउँ अभाव हुँदा कोरोना संक्रमित विरामीलाई भेट्न आउने कुरुवा तथा आफन्तलाई समस्या भएको छ । कोरोना उपचारमा खटिएका नर्सहरुका लागि सुरक्षित कक्ष नभएको उनले बताए ।
अस्पतालले निर्माण गरेको कार्यतालिका अनुसार हरेक हप्ताको आइतबार काम गर्दा देखा परेका समस्याका बारेमा व्यवस्थापनसंग छलफल गर्ने, सोमबार चिकित्सक संघ तथा इमरजेन्सि वार्डका इन्चार्जसंग भेटघाट गर्ने, मंगलबार औषधीको अवस्था बारेमा बुझ्ने, बुधबार प्रयोगशाला इन्चार्जसंग छलफल गर्ने, बिहीबार विरामी तथा आफन्तका गुनासा सुन्ने तथा शुक्रबार अस्पताल व्यवस्थापन समितिले गरेका कार्यका बारेमा सर्वसाधारणलाई जानकारी गराइने छ ।