धनगढी पोष्ट
आइतबार, १६ जेठ २०७८ मा प्रकाशित
धनगढी । बैठकको निर्णयका बिरुद्धमा बोलेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य पठानसिंह बोहरासंग स्पष्टीकरण मागेको छ ।
दलको बैठकमा स्वयम उपस्थितिमा भएर गरिएका निर्णयहरुका विरुद्ध बोहरा किन बोलेको भन्दै संसदिय दलका नेता प्रकाश शाहले स्पष्टिकरण माग गरेका हुन् ।
तपाई स्वयमको सहभागितामा गहन छलफल पश्चात गरिएको निर्णयका बिरुद्ध सार्वजनिक सञ्चार माध्यममा के कति कारणले बोल्नु भएको हो ?” पत्रमा भनिएको छ “ बोहराले दलका अन्य सदस्य तथा पार्टी पंक्ति समेत उक्साउने र भडकाउने दुराशयले गुटबन्दी गर्दै दलको एकता र गरिमालाई छिन्न भिन्न पार्ने प्रयत्न किन गरिरहनु भएको छ ? भएका निर्णयहरुको कार्यान्वयनमा बाधा सिर्जना गरि गुटबन्दी किन गर्नु भएको हो ?”
दलको सदस्यको अनुशासनको व्यवस्थाको प्रतिकुल भएकोले तथ्यगत जवफा पेश गर्न र जवाफ पेश नभएमा कारबाही गरिने चेतावनी पत्रमा दिइएको छ ।