धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कोरोना सङ्क्रमित महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइयो

अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कोरोना सङ्क्रमित महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइयो

रासस

बैतडी । बैतडीमा पहिलो पटक एक कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ ।

दशरथचन्द नगरपालिका४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया मार्फत बच्चा जन्माएकी हुन् । नौ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन्  । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिलाको सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सङ्क्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ । ती महिलाले पहिलो सन्तानका रुपमा छोरा जन्माएको अस्पतालले जनाएको छ । 

अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसैबीच कोरोना कहरबीच पनि जिल्ला अस्पतालमा प्रसुती सेवा प्रदान भइरहेको छ । अस्पतालमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै गएपछि आकस्मिक र प्रसुति बाहेकका सबै सेवा बन्द गरिएको डाक्टर जोशीले बताए ।

बैतडीमा हाल ६ शय बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ ।