धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेल भने नेपालमा अहिले बेलायतमा देखिएको ‘अल्फा’ र भारतमा देखिएको ‘डेल्टा’ भेरियन्ट मात्रै सक्रिय रहेको बताउँछन् ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नदेखिएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोरोना भाइरसका २ भेरियन्ट मात्रै सक्रिय रहेको बताएका छन् ।

बेलायती अखवार डेली मेल ले बिहीबार (जुन ३ ) को संस्करणमा हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

डेलिमेलको समाचारमा वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरुलाई सचेत गराएको भनेर लेखिएको छ । भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्टको नेपालमा दोस्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने पनि डेलिमेलले आफ्नो समाचारमा लेखेको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेल भने नेपालमा अहिले बेलायतमा देखिएको अल्फा र भारतमा देखिएको डेल्टा भेरियन्ट मात्रै सक्रिय रहेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी१.७१२.२) र काप्पा बी.१.६१७.१) देखिएका जनाएको छ । यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ ।