धनगढी पोष्ट
शनिबार, २२ जेठ २०७८ मा प्रकाशित
काठमाण्डौं । नेपालकै इतिहासमा पहिलो पटक केन्द्र सरकारमा प्रदेश २ बाट १० जना मन्त्री एकै दिन नियुक्त भएका छन् ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रदेश २ बाट १० जना मन्त्री बनेका हुन् ।
सो क्रममा उनले आफ्नै पार्टीका १३ मन्त्रीलाई हटाएर प्रदेश २ बाटै २ उपप्रधानमन्त्री सहित १० मन्त्री नियुक्त गरेका हुन् । जसमा दुई जना उपप्रधान र २ राज्यमन्त्री छन् । ओलीको १७ सदस्यीय मन्त्रिमण्डलमा प्रदेश २ बाट मात्र १० जना छन् ।
जसपाबाट ९ जना मन्त्री छन् भने एमालेबाट १ जना । जसमा धनुषाबाटै दुई उपप्रधानमन्त्री सहित तीन मन्त्री छन् ।
धनुषा क्षेत्र नं. ३ बाट तत्कालिन राजपाबाट निर्वाचित सांसद जसपाका बरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, धनुषा निर्वाचन क्षेत्र नं. ४ एमालेबाट निर्वाचित सांसद रघुवीर महासेठ उपप्रधान सहित परराष्ट्र मन्त्रालय र धुनषा निर्वाचिन क्षेत्र नं. २ बाट तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री बनेका छन् ।
यस्तै महोत्तरी जिल्लाबाट पनि दुई जना मन्त्री बनेका छन् । जसपाको कोटामा परेका महोत्तरी क्षेत्र नं. २ बाट पुर्व राजपाबाट निर्वाचित शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, समानुपातिक सांसद चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी हुन् । चौधरीको घर सर्लाही भए पनि महोत्तरीबाट समानुपातिकमा उनी सांसद बनेकी हुन् ।
सर्लाही क्षेत्र नं. १ मा पुर्व राजपाबाट निर्वाचित अनिल कुमार झा खानेपानी तथा सरसफाईमन्त्री बनेका छन् । पर्साबाट भने दुई जना मन्त्री बनेका छन् ।
क्षेत्र नं. १ राजपाबाट निर्वाचित लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् भने पर्सा निर्वाचन क्षेत्र २ तत्कालि फोरमबाट निर्वाचित विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बेनका हुन् ।
त्यस्तै बारा जिल्लाको क्षेत्र नं. २ पुर्व राजपाबाट निर्वाचित सांसद एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन् भने सप्तरी क्षेत्र नं. ३ राजपाबाट निर्वाचित चन्द्रकान्त चौधरी राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री भएका हुन् ।
जसपाको एक राज्यमन्त्री रेणुका गुरुङ मात्र प्रदेश नम्बर २ भन्दा बाहिरबाट भएकी छन् ।
मन्त्री बनेका उमाशंकर अरगरिया, विमल श्रीवास्तव र राज्यमन्त्री बनेकी रेनुका गुरुङ उपेन्द्र यादव पक्षका हुन् । पछिल्लो समय उनीहरु कित्ता परिवर्तन गरेर महन्थ ठाकुर पक्षमा लागेपछि मन्त्री बनेका हुन् ।