धनगढीमा बिद्यालयहरुले आन्तरिक मुल्याङकनका आधारमा नतिजा प्रकाशन गर्ने
बिद्यालयहरुको नतिजा जेठ मसान्तभित्रमा प्रकाशन गरिसक्ने र असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने उपमहानगरपालिको तयारी छ ।
धनगढी पोष्ट
आइतबार, २३ जेठ २०७८ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाले नगरमा रहेका बिद्यालयहरुलाई आन्तरिक मुल्याङ्कनका आधारमा नतिाज प्रकाशन गर्न निर्देशन दिएकोछ ।कोभिडका कारण भौतिक उपस्थितिमा बिद्यालय सञ्चालन गर्न सम्भव नभएको भन्दै उपमहानगरपालिकाले नतिजाका लागि आन्तरिक मुल्याङकनलाई आधार मान्ने भएको हो ।
‘यसपटक बैकल्पिक उपायलाई आधार मानेर नतिजा प्रकाशन गर्न हामीले बिद्यालयहरुलाई निर्देशन दिएका छौं ।’उपमहानगरपालिकाक शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र बहादुर खातीले भने– ‘बिद्यालयहरु पनि नतिजाको तयारीमा लागिसकेका छन् ।’
पाठ्यक्र बिकास केन्द्रले तयार पारेको पाठ्यबस्तु समायोजन ढाँचा २०७७ मा व्यवस्था गरिएको बैकल्पिक उपायहरुलाई आधार मानेर नतिजा प्रकाशन गर्न लागिएको महाशाखा प्रमुख खातीले बताए ।
बिद्यालयहरुको नतिजा जेठ मसान्तभित्रमा प्रकाशन गरिसक्ने र असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने उपमहानगरपालिको तयारी छ ।
उपमहानगरपालिकाले बिद्यालयहरुलाई कक्षा ८ का बिद्यार्थीहरुको आन्तरिक परिक्षाका आधारमा मुल्याङकन गर्न जेठ २० गतेसम्म पठाइसक्न भनेको थियो । तर अझै पनि केही बिद्यालयहरुले पठाउने क्रम जारी छ ।
कक्षा ८ बाहेक अरु कक्षा (कक्षा १ देखि ९ सम्म) यसअघिका आन्तरिक परिक्षाको मुल्याङकन र अरु बैकल्पिक बिधि अपनाएर गरिने मुल्याङकनलाई आधार मानेर बिद्यालयहरुले आफै नतिजा प्रकाशन गर्नेछन् । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले प्रकाशन गरेको सुचनामा भनिएको छ ‘बिषयगत÷कक्षागत शिक्षकबाट भएको बिद्यार्थी मुल्याङकन, बिद्यालयले यसपुर्व सञ्चालन गरेका परिक्षाहरुमा बिद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क समेतका आधारमा वार्षिक औसत प्राप्ताङ्क तयार पारी सोही आधारमा नतिाज तयार पार्ने ।’
बिद्यालयले नतिजा प्रकाशनको लागि प्रधानाध्यापकको संयोजकत्वमा तीन सदस्यीय बिद्यार्थी मुल्याङ्कन समिति गठन गर्नु पर्नेछ ।
बिद्यालयहरुले फोन वा एसएमएस मार्फत नतिजाको जानकारी अभिभावक मार्फत बिद्यार्थीलाई गराउनु पर्नेछ । बिद्यालयहरुले नतिजालाई एक्सेलमा इन्ट्री गरेर जेठको मसान्तसम्म वेवसाइटमा राखीसक्नु पर्नेछ ।