धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एमाले निकट युवाद्वारा राजेन्द्र महतोको पुत्ला दहन

एमाले निकट युवाद्वारा राजेन्द्र महतोको पुत्ला दहन

धनगढी

 नेकपा एमालेको भातृ संगठनमा आबद्ध युवा तथा विद्यार्थी संगठनले संघिय सरकारका उपप्रधान मन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको धनगढीमा पुत्ला दहन गरेका छन् ।

 राष्ट्रलाई विखण्डन गर्ने तथा संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै युवा समुहले धनगढीको पार्कमोडमा महतोको पुत्ला दहन गरेका हुन् ।

 ‘सार्वजनिक पदको दुरुपयोग गर्दै महतोले राष्ट्रलाई विखण्डन गरी देशमा अराजकता निम्त्याउने अभिव्यक्ति दिएका छन् नेकपा एमाले सुदूरपश्चिमका युवा नेता मदन रेग्मीले भने–‘यसको हामी घोर भत्सना गर्दछौं, सरकारमा बरिसहने महतोको नैतिक अधिकार छैन, तत्काल मन्त्रीबाट राजिनामा दिनु पर्दछ ।

 युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठले देश टुक्र्याउने अभिव्यक्ति दिने महतोले तत्काल राजिनामा दिनुपर्ने बताए । देशलाई अप्ठ्यारोमा पार्ने गतिविधि भएपछि हामी निषेधाज्ञामा समेत सडकमा निस्कन बाध्य भएका छौं उनले भने–‘महतोको राजिनामा नआए आन्दोलन थप चर्कने छ ।

 अनेरास्ववियु  केन्द्रिय उपाध्यक्ष केशरी रेग्मीले महतोको राष्ट्रघाती अभिव्यक्तिको बिरोध गर्दा काठमाण्डौमा पक्राउ परेका अनेरास्ववियुका  केन्द्रिय नेता शुरेस पराजुली लगायत ११ जनालाई पक्राउ गरिएको भन्दै ती नेतालाई तत्काल रिहाई गरिनुपर्ने बताइन् । ‘राष्ट्र घाति अभिव्यक्ति दिएर देशलाई विखण्डन तर्फ लैजान खोज्ने जो कोहीको हामी विरोध गर्ने छौं’ उनले भनिन्–‘यो हाम्रो सांकेतिक विरोध मात्रै हो ।’ 

 उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेपछि नेपाललाई बहु राष्ट्र र बहु राज्य बनाउने मुक्ति आन्दोलन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । पुत्ला दहन कार्यक्रममा राजेन्द्र महतो मर्दाबाद, राजेन्द्र महतो राजिनामा दे भन्दै नाराबाजी गरिएको थियो ।