धनगढी पोष्ट
मङ्गलबार, २५ जेठ २०७८ मा प्रकाशित
धनगढी । संघीय सरकार निर्माणमा देखा परेको राजनैतिक दलहरुको ध्रुवीकरणको असर सुदुरपश्चिम प्रदेश सभामा स्पष्ट रुपमा देखा पर्ने भएको छ ।
सोमबारसम्म प्रदेस सभामा सरकारको कटु आलोचक रहेको नेपाली काँग्रेस संसदिय दलले पनि संघमा केपी ओली बिरोधी गठबन्धनका कारण प्रदेशमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने भएपछि मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेश सभामा दुई तिहाई भन्दा बढी मत पाउने निश्चित भएको छ ।
एमालेका समर्थन फिर्ता लिने काँग्रेसका समर्थन दिने मत बढ्ने भएपछि मुख्ष्मन्त्री भट्ट ३९ मता पाउने लगभग निश्चित भएको छ । २०७४ मा मुख्यमन्त्री भट्टले ३७ मत पाएका थिए ।
प्रदेश सभामा नै एमालेले समर्थन फिर्ता लगिसकेकोले अल्पमतको सरकार भन्दै राजीनामा मागि भएपछि मुख्यमन्त्री भट्ट बिश्वासको मत लिन लागेका हुन् । प्रदेश सभामा आइतबार दर्ता गरिएको बिश्वासको मतको प्रस्तावमा आज (मंगलबार ) मतदान हुदैछ ।
एमालेका केही मतहरु घटे पनि घट्ने मत भन्दा बढी मत काँग्रेसबाट आउने हुदा मुख्यमन्त्री दुई तिहाई पाउने स्थितिमा पुगेका छन् । उनले माओवादीका १२, माधव नेपाल पक्षीय एमालेका १५ र काँंग्रेसका १२ मत निश्चित बनेको छ ।
एमाले स्थायी समितिले सरकारलाई दिएको समर्थन फिर्ता लगिसकेकोले एमालेका मतहरु पक्ष र बिपक्षमा बिभाजन हुदैछन् । चार बर्ष अघि सरकार बनाउँदा एमालेका २४ मत पाएका मुख्यमन्त्री भट्ट यसपटक एमालेका सबै मत पाउँदै छैनन् । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका मतहरु प्रस्तावको बिपक्षमा र माधव नेपाल पक्षका मतहरु सरकारको समर्थनमा जादैछन् । प्रदेश सभा बन्दा थोरै रहेका एमालेको केपी पक्षका मतहरु बढेर अहिले नौ पुगेका छन् । माधव नेपाल पक्षका सांसदहरु घटेर १५ ( सभामुख बाहेक) मा सिमित भएका छन् ।
माओवादीका १३ साँसद मध्य झपट बोहरालाई पार्टीले कारवाही गरेपछि एक मत घटेर १२ छ ।
आफ्नो पार्टीको एक र एमालेका ९ मत घटे पनि मुख्यमन्त्री भट्टले कांग्रेसका १२ मत प्राप्त गर्दैछन् । संघीय सरकारमा काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थनले एकै ठाउँमा आएका काँग्रेस, माओवादी, माधव नेपाल पक्षीय एमाले सुदुरपश्चिम प्रदेशमा पनि एक ठाउँमा उभिदैछन् । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सभा संसदिय दलका नेता डा. रण बहादुर रावल भन्छन् “हामी केन्द्रको निर्णयको प्रतिक्षामा छौं । हामीले प्रदेशको अवस्थाका बारेमा जानकारी पठाएका छौ. । केन्द्रबाट निर्णय आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।”
सर्वोच्च अदालतमा संसद बिगठन बिरुद्ध र शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमा छलफल भैरहदा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल दिउसो बालुवाटार स्थित देउवा निवासमा छलफलमा व्यस्त थिए । उनीहरुबीच संघीय सरकारका साथै सुदुरपश्चिमका बारेमा पनि छलफल भएको बताइएको छ ।
आज ( मंगलबार) बिहानै काँग्रेसले लिने लाइनको बारेमा औपचारिक रुपमा जानकारी आएपछि संसदिय दलको बैठकले मुख्यमन्त्रीलाई समर्थन दिने निर्णय गर्नेछ । औपचारिक निर्णय नआए पनि अनौपचारिक जानकारी आएकै कारण कांगेसका सांसदहरु सोमबार दिनभरि कुनै पक्षमा खुलेर लागेनन् । बरु सोमबार साझ बसेको संसदिय दलको बैठकले काँग्रेसका केन्द्रबाट आएको सल्लाह बमोजिम अघि बढ्ने निर्णय गरेको छ ।