धनगढी पोष्ट
सोमबार, ०८ असार २०७७ मा प्रकाशित
धनगढी
बैतडीको पाटन नगरपालिकालाई एक हप्ताका लागि सिल गरिएको छ । कोरोना महामारी नियन्त्रणको लागि भन्दै आइतवार बसेको नगरपालिकाको कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकालाई आजदेखि १ हप्ताका लागि पुर्ण रुपमा सिल गरिएको नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दले जानकारी दिए । कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाले बजार क्षेत्रहरु पाटन, खोडपे, ठाँड मानिकाखान लगायतका सबै बजार क्षेत्र आजदेखि आगामी सोमबारसम्म १ हप्ताका लागि सिल गर्ने निर्णय गरिएको नगर प्रमखु चन्दले बताए ।
कोरोना संक्रमण थप फैलिन सक्ने भएकाले बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको बताए । यसैगरी अत्याआवश्यक कामको लागि आवतजावत तथा किनमेल गर्नुपरे सम्बन्धित वडाका वडा अध्यक्षहरु सँग समन्वय गर्न सकिने पनि जनाइएको छ । बजारक्षेत्र सिल गर्ने निर्णयको अवज्ञा गरी बजार तथा व्यवसाय सञ्चालन गरेको पाइएमा पहिलोचोटी ५ हजार र दाश्रो चोटी १० हजार जरिवाना पनि गराइने जनाइएको छ ।
बैंक तथा वित्तीय संस्थाको हकमा आज सोमबार, आगामी बिहीबार र आइतबार मात्रै खोल्ने तथा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै सञ्चालनमा आउने निर्णय गरिएको छ । पाटन नगरपालिकामा आजसम्म ८ जनामा कोरोना देखिएको छ ।