धनगढी पोष्ट
मङ्गलबार, २५ जेठ २०७८ मा प्रकाशित
काठमाडौं : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड –१९ ) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ ।
गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको छ । समीक्षाको आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुनेछ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए ।
“यसअघि ‘लकडाउन थियो, असारदेखि भने ‘लुज डाउन’ लागु गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’
सङ्क्रमण भन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदर समेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ ।
आ–आफ्नो जिल्लामा आदेश लागु गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ ।
सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको र छ हजार ९५१ सङ्क्रमित निको भएका छन् ।
सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।
कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे । उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शक सहितको खेलकुदका गतिविधि भने अझै खुल्ने छैनन् ।
सरकारले असारदेखि मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ ।
निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकै चोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ ।
निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधन समेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ । अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा . समीर कुमार अधिकारी बताउछन् ।
रासस