धनगढी पोष्ट
बिहिबार, २७ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ । अस्पतालमा गरिएको परिक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका वडाद नम्बर ५ का ७७ वर्षीय पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ का ५४ वर्षीय पुरुष र अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ का १७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालमा १ शय ७९ जनाको नमुना परीक्षण गर्दा संक्रमण पुस्टि भएका मध्य २० पुरुष र १२ महिला गरी ३२ जना धनगढी उपमहानगरपालिकाका रहेका छन् । कैलालीको धनगढी उपमहागरपालिका बाहेकका पालिकाका ३७ जना र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालमा ९ जना संक्रमित भर्ना भएका छन् भने ४ जना सक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा २६ जनाको उपचार भैरहेको छ । ९ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।