धनगढी पोष्ट
शनिबार, २९ जेठ २०७८ मा प्रकाशित
धनगढी । नगरप्रमुखको कार्यशैलीप्रति असन्तुष्ट कैलालीको गौरीगंगा नगरपालिकाका राजनैतिक दलहरुले नगरपालिकाले बोलाएको बैठक बहिष्कार गरेका छन् ।
नगरप्रमुख भीमबहादुर देउवाले आज (शनिबार) बोलाएको सर्वदलिय बैठक दलहरुले बहिष्कार गरेका हुन् । यसअघि शुक्रवार दलहरुले बिज्ञप्ति जारी गर्दै नगरप्रमुखले कार्यमा सुधार ल्याउन चेतावनी दिएका थिए ।
‘आज नगरपालिकाले बोलाएको राजनीतिक दलहरुको बैठक हामीले बहिष्कार गरेका छौ ।’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीले भने ‘नगर प्रमुखले बजेट वितरणमा गर्दै आएको बदमासी नरोकिएपछि बैठकल बहिषकार गरेका हौ ।’ जोशीका अनुसार बैठकमा ५ दल सहभागी भएनन् ।
बहुमत सदस्यहरुको मागलाई समेत नगरपालिका प्रमुख देउवाले अटेरी गरेको भन्दै पालिकाका १४ जना सदस्यहरुले नगरपालिकाले बोलाएको बैठक बहिष्कार गरेका थिए । गौरीगंगा नगरपालिकामा २१ सदस्यीय कार्यपालिका छ ।
दलहरुले बिज्ञप्ति प्रकाशित गर्दै नगरप्रमख देउवाले गिट्टी–बालुवा संकलनमा आर्थिक हिनामिना गरेको, योजना वितरणमा मनोमानी गरेको, नगरपालिकाको काम पारदर्शी नभएको, स–साना योजनाहरु वडाहरुमा अध्यक्षलाई समेत जानकारी नदिएर पठाइएको, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल समेत नगरेको भन्दै उनीहरुले बिरोध जनाएका थिए ।