धनगढी पोष्ट
आइतबार, ३० जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले असार १ गतेदेलि ‘टेलिमेडिसिन’ सेवा शुरु गर्ने भएको छ । टेलिमेडिसिन सेवा शुरु भएपछि बिरामीहरुले टेलिफोनबाट नै बिशेषज्ञबाट स्वास्थ्य सल्लाह लिन सक्नेछन् ।
कोभिड १९ को महामारीमा प्रदेशमा रहेका स्वास्थ्यकर्मी तथा बिरामीहरुलाई कोभिड १८९ तथा बर्षायाममा बढी देखा पर्ने र नसर्ने रोगहरुका बारेमा आपतकालीन समस्या परेमा बिशेषज्ञ चिकित्सा सेवा उपलव्ध गराउन टेलिमेडिसिन सेवा शुरु गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेयद्धारा आइतबार प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।
अस्पतालले टेलिमेडिसिन सेवा दिनका लागि बिशेषज्ञ चिकित्सकहरुको जिम्मेवारी पनि तोकेको छ । आइतबार र सोमार वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर, मंगलबार र बुधबार फिजिसियन डा. निराजनदत्त शर्मा, बिहीवार फिजिसियन डा सन्तोष पाण्डेय र शुक्रवार फिजिसियन डा. निशान भट्टराईले टेलिफोनबाट नै स्वास्थ्य सल्लाह दिनेछन् ।
टेलिमेडिसिन सेवाका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पर्क गर्नु पर्नेछ ।
बिज्ञप्तिमा कोभिड १९ तथा वर्षातको मौसममा देखापर्ने सर्पदंश, मलेरिया, कालाजार, डेंगु, मेनिन्जाइटिस तथा नसर्ने रोग डाइबेटिज, उच्च रक्तचाप र मुटुरोग सम्बन्धी परामर्श लिन विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।