धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

जानकी गाउपालिकाद्धारा किसानलाई बोका बितरण

पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो ।

रासस

टीकापुर ।  कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरेको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो । 

पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि बाख्रापालक किसान खुशी भएका छन् । जानकी४ का किसान सुरेशकुमार कठरियाले व्यावसायिक बाख्रापालन गरेको दुई वर्ष भयो । बाख्रापालन व्यवसायलाई थप बढाउन उन्नत जातको बोका पाएपछि सहज हुने उनको भनाइ छ ।

गाउँमै केही गरौँ भनी बाख्रापालन व्यवसाय शुरु गरेको हुँ, उन्नत बोका भएपछि अब उन्नत जातका बाख्रा जन्मनेछन्, कठरियाले भने, ‘यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ ।  पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौ ।

 पालिकाले कठरिया जस्तै नौ जना किसानलाई बोका वितरण गरेको हो । जानकी१ का ओमप्रकाश चौधरी पनि गाउँपालिकाबाट उन्नत जातको बोका पाएपछि खुशी भएका छन् । उनी अनुदानमा पाएको बोकाले आफुले गरिरहेको बाख्रापालन कार्यमा टेवा पुग्ने बताउँछन् । हामीले उन्नत जातको बोका किन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको बोका भएमा स्थानीय जातको लोकल बाख्राले पनि उन्नत पाठापाठी जन्माउन सक्छन्, चौधरीले भने,  ‘यसले बाख्रा उन्नत खालको हुनुका साथै व्यवसाय फस्टाउन सहयोग पुग्छ । बाख्रा धेरै भएमा मासुको अभाव पूर्ति गर्न सहयोग पुग्छ ।  पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बोका वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धि हुने गरी प्रतिफल दिन किसानलाई आग्रह गरे । तपाईंहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ ।  पालिकास्तरमा बाख्रा उत्पादनको अवस्थालाई वृद्धि गर्न बोका वितरण गरेका हौ अध्यक्ष चौधरीले भने, ‘किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ । यहाँहरु राम्रो गर्नुहोला । सरकार सधैँ सहयोगी भूमिकामा हुनेछ ।

बोयरका उन्नत जातका पाठापाठी उत्पादन गर्ने र अन्य जात भन्दा बोयर जातको बोका, खसीहरु बढी तौलका हुने, यस क्षेत्रको हावापानीमा उपयुक्त मानिएकाले बोयर जातका बोका वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नरबहादुर कार्कीले बताए । अन्य बाख्रा भन्दा यसमा रोग पनि कम लाग्ने, सामान्य स्याहार सुसारमा पनि हुर्कन सक्ने भएकाले किसानले पनि यही जातको बोका माग गरे उनले भने, ुपशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै बोयरका बोकाहरु वितरण गरेको हो ।