धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुराको मुक्तिकोटमा खाद्य संकट

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको छ ।

प्रेम रौले ।रासस

मार्तडी । स्वामीकार्तिक खापर गाउँपालिका१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ ।

लामो समयसम्म खडेरी तथा कोरोना कहले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको जनाइएको छ । स्थानीयवासी बलबहादुर विकले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए । उनका अनुसार सो गाउँमा करिव चार सय दलित परिवार बसोबास गर्दछन् । उनले भने लकढाउनले  दैनिक ज्यालामजदुरी गर्न जान सकिएको छैन । गाँउमा रोजगारी पनि छैन । घरमा भएको खाद्यन्न पनि सकियो ।

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर विकले जानकारी दिए । ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना कहरका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यान्न समस्या आएको बताइएको छ । स्थानीय उत्पादनले एक महिना पछि छाक टार्न मुश्किल पर्ने स्थानीयवासी औजनी विकले बताए ।

अधिकांश परिवार १२ महिना बजारका खाद्यान्नमा निर्भर हुनुपर्ने बाध्यता रहेको उनले बताए । मुक्तिकोट गाउँमा चरम खाद्य सङ्कछ र बालबालिका कुपोषणको चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिकाका सुचना अधिकारी कुबेर शाहीले बताए । उनले यसबाट बालवालिका, गर्भवती र ज्येष्ठ नागरिक कुपोषणको शिकार बनेको जानकारी दिए ।

बालबालिकाको कुपोषणाबाट मृत्यु हुने गरेको बताइएको छ । गाउँमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ । गाउँपालिकाले भने गाउँमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ । गरिब घर परिवार पहिचान बोर्डले विसं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाउपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेको उल्लेख छ ।

प्रतिवेदनमा गाउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ ।