धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बर्षा छिटो हुँदा सुदूरपश्चिममा धानरोपाई छिटो सकिंदै

असार दोश्रो सातामै तराईको ६० प्रतिशत खेतमा रोपाई सम्पन्न भइसकेको छ ।

बर्षा छिटो हुँदा सुदूरपश्चिममा धानरोपाई छिटो सकिंदै

धनगढी । मनसुन छिटो सक्रिय भएर असार पहिलो सातादेखि नै बर्षा हुँदा यसबर्ष सुदूरपश्चिममा छिटो रोपाई सकिने अनुमान गरिएको छ । असार दोश्रो सातामै तराईको ६० प्रतिशत खेतमा रोपाई सम्पन्न भइसकेको छ भने पहाडी जिल्लामा ३५ प्रतिशत भन्दा बढी जमिनमा रोपाई सम्पन्न भइसकेको सुदूरपश्चिम कृषि निर्देशनालय डोटीले जनाएको छ ।

कृषि निर्देशनालयको तथ्याङ्क अनुसार यसअघि सुदूरपश्चिममा असार दोश्रो सातादेखि मात्रै धान रोपाई सुरु हुने गरेको थियो । निर्देशनालयका अनुसार अघिल्लो बर्षको असार दोस्रो सातासम्म २२ प्रतिशत जमिनमा मात्रै रोपाई सम्पन्न भएको थियो । तर यस बर्ष समयमै बर्षा हुँदा रोपाई छिटो भएको हो ।

असार दोश्रो सातादेखि रोपाई सुरु भएर साउनको दोश्रो हप्ता सम्म रोपाई सकिने गरेको थियो कृषि निर्देशक यज्ञराज जोशीले भने– ‘नियमित बर्षा भइरहे यस बर्ष असार २५ गतेसम्म सबै जमिनमा धान रोपाई सकिने अनुमान गरिएको छ, यसले धान उत्पादन समेत वृद्धि हुने छ ।

उनका अनुसार सुदूरपश्चिमको धान उत्पादन हुने जमिन मध्य औषत ४६ प्रतिशत रोपाई सम्पन्न भएको छ । निरन्तर बर्षा भए यसबर्ष छिटो धान रोपाई सम्पन्न हुनेछ उनले भने– ‘धान रोपाई  छिटो सकिए उत्पादनमा समेत वृद्धि हुन सक्दछ ।

सुदूरपश्चिम प्रदेशमा एक लाख ८५ हजार ८ सय ४७  हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । जसमध्य असार दोस्रो सातासम्म ८५ हजार ३ सय ६८ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिमका ९ वटै जिल्ला मध्य दार्चुलामा बढी जमिनमा रोपाई भएको छ । निर्देशनालयका अनुसार दार्चुलामा असार  दोश्रो सातासम्म दुई हजार ५ सय ४० हेक्टर जमिनमा रोपाई सम्पन्न भएको छ । दार्चुलामा ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।