धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

प्रधानमन्त्री देउवाको अडानले पछि धकेलियो सपथ

धनगढी

प्रधानमन्त्री नियुक्ती गर्ने राष्ट्रपति कार्यालयको पत्रमा धारा उल्लेख नभएकोले त्यसलाई सच्याउन प्रधानमन्त्री देउवाले आग्रह गर्दा उनको सपथ निर्धारित समयभन्दा पछि धकेलिएको छ ।

देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत् उक्त पत्र सच्याउन भनेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच सम्बन्ध सुमधुर हुनुपर्छ भनेरै सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नियुक्ति पत्रमा धारा उल्लेख गर्न भनिएको हो देउवा सचिवालयले भन्यो–‘संविधानको धारा अनुसार प्रधानमन्त्री बन्ने भएकोले नियुक्तिमा धारा उल्लेख गर्नैपर्छ भन्ने सभापतिज्यूको अडान रह्यो, अहिले सपथ केही पर धकेलिएको छ ।

देउवानिकट एक नेताले दिएको जानकारीअनुसार पत्र सच्याउने शर्तपछि देउवा बुढानिलकण्ठबाट शितल निवासका लागि हिँडेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार सर्वोच्चको आदेशअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेको थियो ।

राष्ट्रपतिले सपथका लागि मंगलबार साँझ ६ बजेका लागि बोलाएकी थिइन् । तर आधा घण्टा ढिलो मात्रै देउवा निवासबाट शितल निवासका लागि हिँडेका हुन् ।

देउवाले सानो आकारमा मन्त्रीमण्डल विस्तार गर्दै सपथ लिन लागेको मनाइएको छ । कांग्रेसबाट बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने तयारी छ ।