धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश खारेज

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश खारेज

धनगढी

निर्वतमान प्रधानमन्त्री केपिशर्मा ओलीले ल्याएका संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश वर्तमान सरकारले खारेज गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा बहुमत सदस्यले सवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएका थिए । अध्यादेश नल्याएको भए सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले बैठक बसेर संवैधानिक पदाधिकारीको नियुक्तिको सिफारिस गर्नसक्ने थिएन ।

संविधानअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन् । उपसभामुख पद लामो समयदेखि रिक्त छ ।

हाल कायम रहेका पाँच सदस्यमा पनि बहुमतले निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याइएको थियो । त्यसअनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आगोगसहितका अधिकांश संवैधानिक निकायमा नियुक्त सिफारिस गरेको थियो ।