सुदुरपश्चिममा पदपुर्ति शुरु गर्ने तयारीमा प्रदेश लोकसेवा आयोग

प्रदेशमा रहेका रिक्त पदहरुको बिबरण  मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट आइपुगे भदौ पहिलो हप्तासम्म बिज्ञापन गरिसक्ने लक्ष्य छ : सचिव बिष्ट

सुदुरपश्चिममा पदपुर्ति शुरु गर्ने तयारीमा प्रदेश लोकसेवा आयोग

धनगढी  ।   प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम प्रदेशले सुदुरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरुको पदपुर्ति शुरु गर्ने तयारी गरेको छ । लोकसेवा आयोगको गठन भैसकेपछि आवश्यक कानुनहरुको निर्माण भैसकेकाले प्रदेश लोकसेवा आयोगले पदपुर्तिको प्रकृया अघि बढाउने  तयारी गरेको हो ।

आयोगलाई काम गर्न आवश्यक कानुनहरु बनिसकेका छन् । अब द्रुत गतिमा पदपुर्ति कहिले गर्ने भनेर हामी आतुर छौं । प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट रिक्त दरबन्दीको विवरण आइपुग्ने बित्तिकै पदपुर्तिका काम अघि बढाउँछौं ।

साउन १५ गतेभित्र प्रदेशमा रहेका रिक्त पदहरुको बिबरण  उपलव्ध गराईदिन  लोकसेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्याललाई आग्रह गरिसकेको छ । सचिव बिष्टका अनुसार मागेकै समयमा जानकारी आइपुगे भदौ पहिलो हप्तासम्म बिज्ञापन गरिसक्ने लक्ष्यका साथ काम भैरहेको छ ।  

बिज्ञापनमा जानका लागि तत्काल पाठ्यक्रम तयार गरिने उल्लेख गर्दै सचिव बिष्टले भने पाठ्यक्रम तयार पारेपछि बार्षिक कार्यतालिका प्रकाशन गरिनेछ । बार्षिक कार्यतालिकामा कुन तहको बिज्ञापन कुन महिनामा गर्ने, कुन महिनामा परिक्षा सञ्चालन गर्र्नेे, कुन महिना अन्तरवार्ता लिने र  कुन महिनामा सिफारिश भनेर सार्वजनिक गरिनेछ ।

आयोगले पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माणको कामका लागि रोष्टर निर्माणका लागि  बिषय बिज्ञ र बिशेषज्ञहरुको सुची आव्हान गरिसकेको  छ ं ।

सचिव बिष्टले आवश्यक चार कानुनहरु बनेपछि पदपुर्तिको काम शुरु गर्न लागिएको बताए । प्रदेश लोकसेवा आयोग नियमावली २०७८, प्रदेश लोकसेवा आयोग कार्यसञ्चालन निर्देशिका २०७८, लोकसेवा आयोगका पदाधिकारी, बिषयबिज्ञ र बिशेषज्ञ एवम कर्मचारीको आचारसंहिता र प्रदेश लोकसेवा आयोगको परिक्षा दस्तुर एवम खर्च व्यवस्थापन मापदण्ड २०७८  स्वीकृत भैसकेपछि आयोगले पदपुर्तिको प्रकृया शुरु गर्न लागेको हो ।

आवश्यक सबै कानुनहरु बनिसकेकाले  पदपुर्ति चाँडो गरे  प्रदेशमा रहेको कर्मचारी अभाव कम गर्न आयोग लागेको छ ।

आयोगले  प्रदेशभरिका प्रदेश  निजामति सेवा अन्तरगर्त रिक्त रहेका सम्पुर्ण पदहरुको प्रतिस्पर्धाका आधारमा हुने, आन्तरिक प्रतिस्पर्धाका आधारमा हुने र बढुवाबाट हुने पदपुर्तिलाई अगाडी बढाउन लागेको छ । सचिव बिष्टले भने  यसले गर्दा प्रदेशको सेवा प्रभावकारिता बढ्नेछ र यहाको बेरोजगारीलाई केही हदसम्म कमी गर्नेछ ।

स्थानीय सरकार र  प्रदेश प्रहरीको पदपुर्ति गर्दा भने आयोगले लिखित परिक्षा मात्र लिनेछ । लिखित परिक्षापछिका अरु प्रकृया सम्वन्धित निकायले नै गर्नेछन् ।  सचिव बिष्टले स्थानीय तह र प्रहरीका पदपुर्तिका बारेमा आवश्यक  निर्माण हुने क्रममा रहेको र कानुन निर्माणपछि पदपुर्तिको काम हुने बताए ।

स्थापनकालादेखि नै सुदुरपश्चिम प्रदेशमा कर्मचारीहरुको अभाव रहेको छ । दरबन्दीका पदहरु रिक्त रहदा प्रदेश सरकारको काम पनि प्रभावित हुदै आएको छ । अहिलेसम्म संघीय लोकसेवा आयोगले पदपुर्ति गरेका र संघीय सरकारले प्रदेशमा खटाएका कर्मचारीका आधारमा सुदुरपश्भिम प्रदेश सञ्चालन भैरहेको छ । प्रदेश लोकसेवा आयोगले पदपुर्ति शुरु गरेपछि प्रदेशका लागि आवश्यक  कर्मचारीहरु प्रदेशमा नै  भर्ना गर्ने काम शुरु हुनेछ ।