धनगढी पोष्ट
बिहिबार, ०७ साउन २०७८ मा प्रकाशित
धनगढी
बर्षाको पानी निकासका विषयमा भएको धनगढी–वडा नम्बर–२ र ३ विच नेष्नलट्रेडिङ मार्गमा भएको विवाद तत्कालका लागि टरेको छ । तत्कालका लागि वडा नम्बर–३ बाट आउने पानी वडा नम्बर–२ हुँदै मोहना सम्म पुर्याउने सहमति भएको हो । तर आगामी बर्ष भने ६ लेन सडकको दुवैतर्फ नाली निर्माण गरेर पानीको दिगो निकास गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पानी निकासका लागि वडा नम्बर–२ का केही स्थानमा भएको अबरोध हटाउँदै मोहनामा पानी मिसाउने सहमति भएको हो । वडा नमबर–३ बाट आएको पानीका कारण आफुहरु डुवानमा परेको भन्दै वडा नम्बर–२ वासीले नेष्नल टे«डिङ मार्ग स्थित कल्भर्ट बन्द गरेपछि विवाद उत्पन्न भएको थियो ।
वडा नम्बर–२ कै केही अबरोध भएका स्थानलाई खोलेर तत्कालका लागि पनी निकास गर्ने सहमति संगै तत्कालका लागि सो समस्या समाधान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । अहिलेको सहमति समस्याको दिगो समाधान हैन’ विष्टले भने–‘यो यस बर्षका लागि मात्रै भएको सम्झौताहो, समस्याको दिगो समाधान गर्ने उपाय नसोचे अर्कोबर्ष अझै समस्या हुन सक्दछ ।’
धनगढी–३ का वडा सदस्य नारायन पोण्डेले तत्कालका लागि अस्थायीरुपमा पानीको निकास गर्ने सहमति भएपनि दिगो व्यवस्थापनमा छलफल भइरहेको बताए ।
‘ढल निकासका लागि भनेर धनगढी उप–महानगरपालिकाद्वारा तत्काल २ करोड छुट्याएको छ’ उनले भने–‘अहिले केही ठाउँमा ह्यूमपाइप राखेर भएपनि जमेको पानी निकासा गर्ने काम भइरहेको छ, दिगो समाधानका लागि मोहनपुर देखी भन्सार (मोहना नदी) सम्म दुई तर्फि नाला निर्माण गरिर्ने विषयमा छलफल भएको छ ।’
उनले असोज देखिनै नाला निर्माण गर्न जुटेमा आगामी बर्ष पानी जम्ने समस्या नहुने बताए । सो विषयमा कैलाली क्षेत्रनम्बर –५ का संघिय सांसद नारदमुनी राना संग आफु लगायत वडाको टिमले छलफल गरेको उनले बताए ।
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले पनि वडा नम्बर २ र ३ मा भइरहेको डुबानको समस्या समाधान गर्न संघीय सरकारको सहयोग जुटाइ रहेको बताएका छन् ।
उनले डुवान समस्याको दिर्घकालिन समस्या समाधानका लागि ६ लेन सडकको दाँयाबायाँ नाली निर्माण गर्नु उपयुक्त हुने बताए । तर स्थानीयको सल्लाह अनुसार अन्य विकल्पमा पनि छलफल गर्न सकिने मेयर वडले बताए ।