धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

विद्यालय भवनमा अनियमितता भएको भन्दै छानविनको माग

विद्यालय भवनमा अनियमितता भएको भन्दै छानविनको माग

धनगढी

अछामको तुर्माखाँद गाउापालिका६ मा निर्माण गरिएको विद्यालय भवनमा अनियमितता भएको भन्दै स्थानीयले छानविनका लागि प्रशासनमा उजुरी दिएका छन् ।

स्थानीय धुर्बतारा आधारभूत विद्यालयमा भवन निर्माण र मर्मतका लागि विनियोजित २५ लाख रुपैंयामा अनियमितता भएको भन्दै स्थानीयले छानविनको माग गर्दै उजुरी दिएका हुन् ।

सांसद र प्राविधिकलाई घुष दिएर ठेकेदारले भवन निर्माणमा अनियमितता गरेको भन्दै सोही विद्यालयका निर्माण समिति अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै उक्त योजनामा विद्यालयले अनियमितता गरेको आरोप लगाएका हुन् ।

उनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा विद्यालय भवन निर्माणका लागि दिएको २० लाख र मर्मत शीर्षकको पाँच लाखमा सांसद र प्राविधिकले रकम असुलेको दाबी गरेको छन् ।

विद्यालयले फर्जी रुपमा दस्खत किर्ते गरेर पेस गरेको, मर्मत सम्भार शीर्षकको पाँच लाख रकम भुक्तानी नदिएर हिनामिना गरेकाले निष्पक्ष रुपमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले विद्यालय भवन निर्माण र मर्मतको योजनामा अनियमितता भएको भन्दै निवेदन प्राप्त भएकाले छानबिन गरिने बताए । विद्यालयका प्रधानाध्यापक प्रकाशकुमार न्यौपानेले भने उजुरी झुठो भएको बताए ।