प्रकाश जोशी
बौनियाँ, कैलालीको लम्कीचुहा नगरपालिका–१० स्थित पथरैया नदीमा सर्वे भएको ४ बर्ष सम्म पनि पुल नबन्दा वडाको तोरिपुरका स्थानीय आक्रोसित बनेका छन् । स्थानीय तहको निर्वाचन अघि सर्वे भएको पुल अझै निर्माण सुरु नगरिँदा स्थानीयले सरकारले ठगेको भन्दै आक्रोस पोखेका हुन् । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान नदिएको स्थानीय बताउँछन् । पुल नहुँदा वडा नम्बर–१० का हजारौंं विद्यार्थी जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।
स्थानीय मानव सेवा यूवा क्लवका सचिव कृष्ण प्रसाद जोसीका अनुसार स्थानीय निर्वाचनको केही समय अघि पुल निर्माण गर्ने भन्दै नदीमा सर्वे टोलीले पुगेको थियो । उनले चुनावमा भोट माग्न मात्रै पुलको सर्वे गरेकोहोकी भन्ने आसंका बढेको बताए । ‘आफुलाई अगुवा सम्झनेहरू चुनाव समयमा भोट बढाउन मात्रै पुलको सर्वे गरेजस्तो गरे’ उनले भने–‘चुनाव पछि जनतालाई फर्केर नहुर्नेलाई जनताले चिन्नु पर्दछ ।’
वर्षातको समयमा नदीको बहाव बढ्दा हजारौं विद्यार्थी नदी तरेर स्कुल जान बञ्चित हुनेगरेका उनले बताए । उनका अनुसार लम्किचुहा नगरपालिका वडा नम्बर १० कै नदी पारी पर्ने श्रीं राष्ट्रिय नव जागृत माध्यमिक विद्यालय, गोल्डन वर्ड ईलिस बोर्डिंग स्कुल, सेती भिजन एकेडेमी, श्री सुर्योदय प्राथमिक विद्यालय, बर्दगोरिया गाउँपालिकामा पर्ने बसन्तमुरारी माध्यमिक विद्यालय, नोवेल एकेडेमी, आदर्श सामुदायिक विद्या मन्दिर, सनराइज एकेडेमीमा भर्ना भएका हजारौं विद्यार्थी बर्षायाममा विद्यालय जान बञ्चित हुने गरेका छन् ।
शिक्षक बसन्त कठरियाले पथरैया नदीको समस्या धेरै पहिले देखी भएपनि सरकारको ध्यान जान नसकेको बताए ।
‘म २०३० सालदेखि यही ठाउँमा बस्दै आएको छु’ उनले भने–‘हामी बसे देखी मदीको समस्या भोग्दै आएका छौं ।’ उनले नदी तर्दातर्दै धेरै नागरिकले ज्यान गुमाएको स्मरण गरे । ‘बर्षायाममा ज्यानको बाजी थापरे नदी तर्नुपर्दछ’ उनले भने–‘नदी तर्दातर्दै धेरै मानिसले अकालमा ज्यान समेत गुमाएका छन् ।’
चुनावका बेला विकास र समृद्धिको नारा लिएर गाउँगाउँमा आउने नेता कार्यकर्ताहरु चुनाव जितेर गएपछि फर्केर समेत नआउने गरेको उनको आरोप छ ।
सो नदीमा अधिकांश विद्यार्थी र सामान किनमेलका लागि मानिसहरु दैनिक ओहोरदोहोर हुने गरेको पाईन्छ ।