धनगढी पोष्ट
शनिबार, १६ साउन २०७८ मा प्रकाशित
धनगढी
दार्चुलाको अत्यन्तै विकट स्थानमा रहेको ब्यास गाउँपालिकाका–२ राप्लाका नागरिकलाई तुईनबाट खसेर वेपत्ता जयसिंह धामीको घटनाले शोकमा डुबाएको छ ।
तुईन तर्ने क्रममा भारतीय सेनाले तुईनको डोरी काट्दा महाँकाली नदीमा खसेर जयसिंह धामी वेपत्ता छन् । गाउँलेलाई सो घटनाले शोकमा डुबाएकोछ । त्यो भन्दा पनि ठुलो चिन्ता आफ्नै देशसंग कसरी जोडिने भन्ने छ ।
सडक सुविधा नभएका कारण आफ्नै जिल्लाका सदरमुकाम पुग्न छिमेकि देश भारत भएर महाँकालीको तुईन तर्दै नेपाल पुग्नुपर्ने बाध्यताका कारण जयसिंह गुमाएको गाउँले बताउँछन् ।
‘हामीले जयसिंहलाई गुमायौं’ वडा नम्बर–२ का वडा अधयक्ष बिरेन्द्र बुडाथोकी भन्छन्–‘भारतीय सेनाको कुरुर तथा अमानविय व्यवहारका कारण अझै कति मानिस गुमाउनुपर्नेहो भन्ने चिन्ता बढेको छ ।’
ब्यास गाउँपालिका–२ राप्ला माल गाउँका उनीहरूलाई बर्खामा आफ्नै क्षेत्रमा बाटो नहुँदा भारतको भूमिबाट हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । वडा अध्यक्ष बुढाथोकीका अनुसार बर्षायाममा नेपाली भूमी प्रयोग गरेर सदरमुकाम जान सम्भवनै छैन ।
‘आफ्नै देशको बाटो भएर सदरमुकाम जान डेढ देअी २ दिन लाग्दछ’ उनले भने–‘त्यो पनि बर्खामा ठाउँठाउँमा पहिरो गएर हिड्न नसकिने अवस्था हुन्छ, भारती बाटो प्रयोग गर्दैआएका थियौं, अवत त्यहाँपनि कसरी जानु ।’
‘हामीले आफ्नो गाउँबाट आफ्नै देशको अर्को स्थान सम्म पुग्न तुइनबाट महाकाली तर्नुपर्ने बाध्यता छ’ उनले भने–‘तुईनका लागि पनि भारतीय भूमि प्रयोग गर्नुपर्दछ, भारतीय सेनाको दादागिरीका कारण अव कसरी सदरमुकाम जाने भन्ने पिर परेको छ ।’
उनले स्थानीयको दैनिकीनै भारत गएर सदरमुकाम जानुपर्ने काममा जोडिनेगरेको बताए । ‘सरकारी काम देखी अन्य कामका लागि पनि भारतीय बाटो प्रयोग नगरी शुख छैन’ उनले भने–‘तुईननै काटेर नदीमा बगाउन थालेपछि हामि त्रसित भएका छौं ।’
जयसिंह धामी संगै सदरमुकाम आउन हिडेका मनिरामसिंह धामीका अनुसार व्यासको राप्का मालगाउँ वासी बर्षा याममा नेपाल पुग्न भारतेको गस्कु मार्ग हुँदै महाँकालीमा तुईन तर्दै आएका छन् ।
उनका अनुसार नेपालको माल गाउँ र भारतको गस्कु जोड्ने रज्जुमार्गलाई स्थानीयले सदरमुकाम आउने आधिकारिक बाटो जस्तै मानेर आउजाउ गर्दै आएका थिए । ‘जयसिंहमाथी गरिएको व्यवहारले हामीलाई तर्साएको छ’ उनले भने–‘तुईको जोखिम सामान्य लाग्ने हामीलाई तुईन काट्ने समस्या ठुलो बनेको छ ।’
शुक्रबार रज्जु मार्ग भएर मनिराम सिंह धामीसंगै नदीमा वेपत्ता भएका जयसिंह, गौरसिंह धामी र अमरसिंह धामी मालघाट पुगेका थिए । घाटमा अन्य २÷३ जना मानिस पनि तुईनको प्रतिक्षा गरिरहेका थिए । सुरुमा ४–५ जना घाट तरेपछि जयसिंह तुइनमा झण्डिएका थिए ।
३३ बर्षका जयसिंह तुईनमा झुण्एिको केही समयमै भारतीय सेनाले पारीबाट तुईन काटेको तुइन सञ्चालक कल्याण धामीले बताए । ‘म यहाँ काम गर्न थालेको २० बर्ष बढी भयो’ उनले भने–‘यस्तो कहिल्यै भएको थिएन, भारतीय प्रहरीले देखिदेखी तुईनको डोरी काटेर खसाए ।’
जयसिंह धामी महाँकालीको वारिपट्टी पुगन केही समय मात्रै बाँकी हुँदा एकाकसी भारतीय सुरक्षाकर्मी नदीमा देखापरेका उनले बताए । तुईनमा मानिसलाई ओसार्ने क्रममा पारी पट्टी सुरक्षाकर्मी थिएनन्’ उनले भने–‘तर एक्कासी सुरक्षाकर्मी आए, कतै हेर्दै नहेरी तुईन काटिदिए, जयसिंहले अकालमै ज्यान गुमाए ।’
भारतीय सुरक्षाकर्मीले तुईनको डोरी खोल्नलागेको देखेपछि सिट्टी फुक्दै डोरी नकाट्न आग्रह समेत गरिएको उनले बताए । ‘हामीले नदीको वारी किनारबाट सामुहिक रुपमा डोरी नकाट्न इसार गरिरहेका थियौं’ उनले भने–‘तर ती प्रहरीले हाम्रो विन्ति सुनेनन्, तार काटेर हिडे ।’
जयसिंह खसेपछि नदी वारी आउन खोजेपनि नदीमा पानीको बहाव बढी हुँदा बगेको उनले बताए । ‘उनी नदीमा खसेपछि केही समय हात चलाएको देखेका थियौं’ उनले भने–‘नदीमा पानीको बहाव बढी हुँदा पौडिकाट्न सकेन, ४÷५ मिनेट पछि वेपत्ता भए ।’