धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

प्रकाश मानव अधिकार पुरस्कार टिकापुरका फिरुलाल चौधरीलाई प्रदान

प्रकाश मानव अधिकार पुरस्कार टिकापुरका फिरुलाल चौधरीलाई प्रदान

धनगढी

कैलालीका सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी फिरुलाल चौधरीलाई यस बर्षको ‘‘प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले शोषण, विपन्नता, विभेद मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहेको भन्दै चौधरीलाई २७ औँ प्रकाश मानव अधिकार पुरस्कार बाट सम्मानित गरेको हो ।

उनलाई शनिबार एक कार्यक्रमका विच सो पुरस्कार वितरण गरिएको हो । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले साउन ४ गते जानकी गाउँपालिका बस्ने फिरूलाल चौधरीलाई पुरस्कार दिने सिफारिस गरेको थियो ।

इन्सेकले शनिबार धनगढीमा एक समारोह आयोजना गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सो पुरस्कार वितरण गरेको हो । अभियन्ता चौधरीलाई पुरस्कार स्वारुप नगद ५० हजार र सम्मान पत्र प्रदान गरिएको इन्सेकका सुदूरपश्चिम प्रदेश अध्यक्ष खडकराज जोशीले बताए ।

इन्सेकले इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएपछि सो पुरस्कार स्थापना गरेको थियो ।