धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

बैतडीमा भेरोसेल खोप लगाउन सुरु

बैतडीमा भेरोसेल खोप लगाउन सुरु
file photo

धनगढी

बैतडीमा चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेलको पहिलो खोप लगाउन सुरु गरिएको छ ।

तोकिएका वडाका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु हुने  स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले उपले निर्धारण गरेको मापदण्ड अनुसार ५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई खोप लगाइने छ ।

खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । खोप अभियान अन्तर्गत आज (आइतबार)देखि पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा तोकिएको केन्द्रमा स्वास्थ्यकर्मी खटाइएको उनले बताए ।

यस्तै साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यसैगरी साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले बताए ।

बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आईसकेको स्वास्थ्य प्रमुख भट्टले बताए । भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोश्रो मात्रा दिनुपर्ने हुन्छ । दोश्रो मात्रा मौज्दात राखेर खोप अभियान सञ्चालन भएको उनले बताए ।

बैतडीमा यस अघि सञ्चालन भएको खोप अभियानमा ३ हजार ४ सय ७३ जनाले दुवै मात्रा खोप लगाएका छन् भने १२ हजार ९ सय ५३ जनाले पहिलो मात्रा मात्रै लगाएका छन् ।