धनगढी पोष्ट
सोमबार, १८ साउन २०७८ मा प्रकाशित
धनगढी
तुईन काटेर मानिसलाई नदीमा खसाएको घटनामा छनविन गर्न गृहमन्त्रालयले गठन गरेको छानविन टोली आज दार्चुला जाने भएको छ ।
कोठमाण्डौंबाट धनगढी सम्म प्लेन मार्फत आउने टोली धनगढीबाट मंगलबार (भोली) हेलिकोप्टर मार्फत दार्चुला जाने छ । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर साउन १५ गते बेपत्ता भएको थिए ।
छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार काठमाडौंको टोली आज धनगढीमै बस्नेछ ।
धनगढीबाट भोली (मंगलबार) बसेर भोलि दार्चुला पुग्नेछ । सहायक प्रजिअ जोशीका अनुसार छानविन टोलीले घटनाका प्रत्यक्षदर्शी संगै जिल्ला स्थित सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधीसंग छलफल गर्नेछ ।
भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्ने गरी आइतबार गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।
सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।