धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

भारतीय एसएसबिले काटेको तुईनको तार हरायो

भारतीय एसएसबिले काटेको तुईनको तार हरायो

धनगढी

जयसिंह धामी नदीमा तरिरहेकावेला काटिएको तुईनको तार हराएको छ ।

शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली घटनास्थल खाङदाङ मालघाटमा पुगेर घटनाको छानविन गर्दा सो स्थानमा तुईनको तार नभेटिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीले बताए ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार शुक्रबार बिहान तुइन तर्ने क्रममा घटना हुँदा जयसिंहपछि पालो कुरेर बसेका २ जना र तुइन सञ्चालक कल्याणसिंह धामीलाई जिल्ला प्रशासन कार्यालयमा ल्याइएको हो ।

उनिहरुले भारतीय एसएसबिले तुईनको तार काटेका कारण जयसिंह नदीमा वेपत्ता बनेका भन्दै सहायक प्रजिअलाई घटनाको विस्तिृत सुनाएका थिए ।

तर अनुसन्धानमा खेटेको प्रहरीले भने तुईन सञ्चालकलेनै तार काटेर फालेको बताएका छन् । सशस्त्रका प्रहरी नायव उपरिक्षक  धामीले तुइन सञ्चालक कल्याणसिंह धामीले नै तार तानेर फालेको बताए । उनले सो स्थानमा तारनै नभेटिएपछि काटेको प्रमाणित गर्न समस्या भएको बताए ।

कल्याणसिंहले वर्षौं पुरानो तार काम नलाग्ने भन्दै महाकालीमै बगाइदिएको भन्दै बयान दिएको उनले बताए । अब घटनास्थलमा रहेका ३ जना प्रत्यक्षदर्शीको बयानबाट नै घटनाको अनुसन्धान हुने उनले बताए ।

तुइन तरेर पारि भारत पुगेका ४ जनाको बयान प्रहरीले लिइसेकेको छ । उनीहरूले एसएसबीका २ सुरक्षाकर्मी तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन् । तर उनीहरुले तुइन काटेको अथवा खोलेको भने नदेखेको बयान दिएका छन् ।