धनगढी पोष्ट
मङ्गलबार, १९ साउन २०७८ मा प्रकाशित
धनगढी
नेपालको हिमाली जिल्ला मनाङमा १८ बर्ष माथीका सवै नागरिकलाई कोरोना खोप लाइएको छ । हाल सम्म नेपालमा आएका खोप १८ बर्ष मुनिका बालबालिकालाई लगाउन अनुमति छैन ।
जसका कारण मनाङमा पनि १८ बर्ष माथिका नागरिकलाई खोप लगाइएको र खोपको पहुँच शत प्रतिशत पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
उनका अनुसार मनाङमा १८ वर्ष माथिका चार हजार एक सय ९८ जना नागरिक रहेकोमा सवै नागरिकलाई दुईवटै डोज खोप लगाइएको हो । आचार्यका अनुसार चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय मनाङका अनुसार मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६ जना, जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ जना र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन् ।
मनाङ जिल्ला घर भई जिल्लाबाहिर रहेका नागरिक खोप लगाउन आएमा उनीहरूलाई समेत खोप लगाउने उचित व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।