धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

बित्थडचिर गाउँपालिकाले ल्यायो ४९ करोड बजेट

बित्थडचिर गाउँपालिकाले ल्यायो ४९ करोड बजेट

बझाङको बित्थडचिर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४९ करोड बराबरको बजेट     ल्याएको     छ ।

     ‘शिक्षा , स्वास्थ्य, कृषि , पर्यटन ,बन बातवरण  रोजगार , उद्योग, उर्जा जडीवुटीदिगो आर्थिक बिकास सहित समग्र भौतिक पूर्वाधार खुशी सुखि समुन्नत  तथा  समृद्धी लागि  बित्थडचीर गाँउपालिका को आधार भन्ने नारा सहित चौथो गाउँ सभाबाट ४९ करोडको बजेट ल्याएको हो ।

      उपाध्यक्ष जानकी बोहराले ४९ करोड १२ लाख ८ हजार ५ सय ३६ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी हुन् । यस्तै गाउँ सभामा उपाध्यक्ष बोहराले आगामी आवका लागि आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन, पूर्वाधार, सुशासन, सेवा प्रवाह, अनुगमन एवं मूल्याङ्कन सम्बन्धी वार्षिक नीति तथा कार्यक्रम पेश गरेकी छन् ।

      नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडकलाई प्राथमिकतामा राखी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत पूर्ण रोजगारी सिर्जना गरी समृद्ध पालिकाको सपनालाई साकार पारिने नीति लिएको छ  ।

   गाउँपालिकामा कृषि क्षेत्रको आधुनिकीकरण र विविधिकरण गर्दै व्यावसायिकरणलाई जोड दिइने नीति कार्यक्रममा सम्बोधन गरिएको    छ । त्यसैगरी एक वडा, एक युवा क्लब, एक खेलमैदान कार्यक्रम मार्फत युवा तथा बालबालिकाहरुको क्षमता विकास गरिने भएको    छ ।

      समग्रमा बित्थडचिर गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद लगायत विभिन्न क्षेत्रको विकासमा जोड दिने जनाएको छ ।

      बुधबार प्रस्तुत बजेट, नीति तथा कार्यक्रम माथि तिन दिनसम्म गाउँ सभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले जानकारी दिए । गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराको अध्यक्षतामा गाउँ सभा सुरु भएको सभामा प्रमुख प्रशासकीय अधिकृत चक्र प्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए । यस्तै गाउँपालिका प्रवक्ता हर्क बहादुर धामीले गाउँ सभा सञ्चालन गरेका थिए ।