धनगढी पोष्ट
मङ्गलबार, १९ साउन २०७८ मा प्रकाशित
धनगढी
प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुत्त गर्न ठाडो निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।
झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो । दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो । ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन नै दिएका हुन् ।