धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मनाङ र मुस्ताङका सवै नागरिकले लगाए कोरोनाको पूर्ण खोप

मनाङ र मुस्ताङका सवै नागरिकले लगाए कोरोनाको पूर्ण खोप
file photo

धनगढी

नेपालको विकट हिमाली जिल्ला मनाङ र मुस्ताङमा खोप दिन योग्य सवै नागरिकले कोरोना विरुद्धको दुईवटै खोप लगाएका छन् । यो संगै दुई वटै जिल्ला पूर्ण खोप लगाउने जिल्लाको सूचिमा परेका छन् ।

मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबैजसो नागरिकले खोप पाइसकेका त्यहाँको स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जिल्लाका ९ हजार ३ सय ५ जनाले कोरोनाविरूद्ध खोप लगाइसकेका छन् । मुस्ताङमा १ हजार ४ सय ७२ जनाले कोभिसिल्ड, ६ हजार ८ सय जनाले जोन्सन एण्ड जोन्सन र ३ सय २१ जनाले भेरोसेल खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टीकाराम भण्डारीले जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप लगाइसकेको बताए ।

उनले जिल्लामा रहेका खोप लगाउन योग्य सवै नागरिकलाई खोप लगाइसकेका कारण मुस्ताङ पूर्ण खोप लगाउने जिल्लाको सूचिमा परेको बताए । १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई लगाउने खोप अहिलेसम्म नेपाल भित्रिएको छैन।

मुस्ताङमा हालसम्म कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुमाएका छन् भने अझै २० जना सक्रिय संक्रमित छन् । हालसम्म ५ सय १७ जना कोरोना संक्रमित भएको मुस्ताङमा ४ सय ५७ जना निको भइसकेको जिल्ला स्वास्थ्य प्रमुख भण्डारीले जानकारी दिए ।

मनाङ पनि कोरोनाविरूद्धको पूर्णखोपयुक्त जिल्ला बनेको छ । मनाङको जनसंख्या ६ हजार २ सय ९८ रहेको छ । जसमा १८ वर्ष माथिका ४ हजार ५ सय जनाका लागि खोप माग गरिएको थियो ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा २ हजार ९६ जनाले कोभिसिल्ड खोप लगाएका छन् । यसैगरी जोन्सन एण्ड जोन्सनको खोप २ हजार २७ जनाले लगाएका छन् । यस्तै, भेरोसेल खोप ७५ जनाले लगाएको अचार्यले बताए ।

उनका अनुसार अब मनाङका १ सय ६५ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकी छ ।