धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला तुइन प्रकरण

छानविन टोली घटना स्थलमा गयो

छानविन टोली घटना स्थलमा गयो

 

धनगढी

भारतीय प्रहरीले तुईन काट्दा दार्चुलाका जयसिंह धामी महाँकालीमा वेपत्ता भइएको घटनामा छानविन गर्न गठित समिति घटनास्थल तर्फ लागेको छ ।

टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाटमा लागि हिडेको छ । छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।

बुधबार दार्चुलाका पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली आज गस्कु गएको हो उनले बताइन् ।

घटा स्थलमा पुगेर थप अध्यन गर्ने उद्देश्यले टोली गस्कु गएको उनले बताइन् । टोलीले नेपालभारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको अवलोकन गर्नेछ ।

समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा जानकारी लिने जनाएको छ ।  यही साउन १५ गते व्यास गाउँपालिका२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए ।

भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो। बेपत्ता धामी अझै फेला परेका छैनन् । टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य छन् ।