धनगढी पोष्ट
बिहिबार, ११ असार २०७७ मा प्रकाशित
धनगढी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालमा एक जना कोरोनाका संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
मृतक स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूष रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार हुँदै आएको थियो ।
ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।
उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
‘इमेर्जेन्सी वार्डबाट ओपीडी वार्ड हुँदै शव ल्याउनुपर्छ । यसो हुँदा अरुलाई पनि सर्न सक्छ,’ डा. आचार्यले भने, ‘तर, यो आज बिहीबार मात्रै हो । शुक्रबारबाट हाम्रा सबै नियमित सेवा खुल्छ ।’