धनगढी पोष्ट
आइतबार, २४ साउन २०७८ मा प्रकाशित
काठमाडौं । सत्तारुढ गठबन्धनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधिमा लाल आयोगको प्रतिवेदन सार्वनिक गर्ने उल्लेख गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम सार्वजनिक गरिएको साझा कार्यक्रम र कार्यविधिमा तराई मधेशमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरुको पुनरावलोकन गरी अन्यायपूर्ण बन्दी बनाइएका व्यक्तिको रिहाइ गर्ने उल्लेख छ ।
शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ ।
यस्तै न्यूनतम साझा कार्यक्रममा तराई मधेश लगायत विभिन्न क्षेत्रमा संघर्ष गरेका समूहहरुसँग सरकारले गरेका सहमतिलाई तदारुकताका साथ कार्यान्वयन गर्ने उल्लेख छ ।
पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो ।
२०७२ सालमा टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा भएको वरिष्ठ प्रहरी उपरिक्षक सहितका प्रहरी र बालकको मृत्यु भएको घटनाको अनुसन्धान गर्न लाल आयोग गठन गरिएको थियो । थरुहट थारुवान पक्षधरहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् । तर सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन ।