वेष्टर्न लिकर्सबाट आन्तरिक राजश्वका नक्कली स्टिकर सहित भारतीय नागरिक पक्राउ

मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रालिबाट आफ्नो कोठामा छाप लगाउन लिन लागेको बेला २ नेपाली र ३ भारतीय नागरिक पक्राउ परेका हुन् ।

वेष्टर्न लिकर्सबाट आन्तरिक राजश्वका नक्कली स्टिकर सहित भारतीय नागरिक पक्राउ

धनगढी । आन्तरिक राजस्व विभाग लेखिएको नक्कली स्किर सहित  प्रहरीले  कैलालीको गौरीगंगा नगरपालिकाबाट तीन जना भारतीय नागरिक सहित पाँच जनालाई पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नं.७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा  आन्तरिक राजस्व बिभाग लेखिएको ७७ रोल (२ लाख ८८ हजार ६ सय ७४ स्टिकर) फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको लखिमपुर जिल्ला खिरी ग्राम पञ्चायत बरौठाका  १९ बर्षीय संजित कुमार, २० बर्षीय रिङ्कु कुमार, २२ बर्षीय सुरेश कुमार, रौतहटको गरुडा नगरपालिका१ जयनगरका ४० बर्षीय राजकुमार साह र पर्सा विरगञ्ज नगरपालिका १३ घन्टाघरका ५५ बर्षीय विजय गुप्ता रहेका छन् ।

मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका वडा नं.७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा पाइएका ती स्टिकल मध्य  १३ रोलमा एउटै सिरियल नम्बर राखेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए ।

उक्त स्टिकर गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरियामा रहेको वेष्टर्न लिकर्स प्रालिबाट आफ्नो कोठामा छाप लगाउन लिन लागेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका ती ब्यक्तिहरु बस्ने कोठामा गई खानतलासी गर्दा 70 UP 300 ml लेखिएको छाप थान, स्ट्याम प्याड थान३ र मसी समेत फेला पारी बरामद गरिएको छ । 

आन्तरिक राजश्व कार्यालय कैलाली संग बुझ्दा ती स्टिकर अवैध भएको पाइएको  प्रहरीले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीसंगको समन्वयमा  उक्त वेष्टर्न लिकर्स प्रालिमा स्टिकर भण्डारण गरिएको कोठा समेत सिल गरिएको र   आन्तरिक राजश्व कार्यालय धनगढी कैलालीबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ  ।

 पक्राउ परेका व्यक्ति र बरामद सामान आज (मंगलबार) नै आन्तरिक राजश्व कार्यालय कैलालीलाई बुझाइने प्रहरी नायब उपरिक्षक बिष्टले बताए