धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

करिव ३९ तोला अवैध सुन र नगद सहित ३ जना पक्राउ

करिव ३९ तोला अवैध सुन र नगद सहित ३ जना पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट करिव ३९ तोला सुन र नगद सहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीका अनुसार बुधबार अत्तरिया क्षेत्रबाट ४ सय ४९.७७ ग्रम (३८ तोला ५६० ग्राम)अवैध सुन र ४९ हजार ४ सय ५ रुपैंया नगद बरामद गरिएको हो ।

काठमाण्डौंबाट महेन्द्रनगरका लागि छुटेको ना ८ख८३४३ नम्बरको बसलाई आज (बुधबार) अत्तरियामा चेकजाँच गर्दा बसका कण्डक्टर सहित ३ जनाबाट सो सुन बरामद गरिएको प्रहरी प्रमुख अधिकारीले बताए । पक्राउ पर्नेमा बसका कण्डक्टर  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ का ३५ बर्षिय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका३ घर भई अत्तरिया स्थित  शैलेश्वरी सुनचाँदी गहनापशलमा कार्यरत २६ बर्षिय राजु बिक र सुनचाँदी गहनापशलका सञ्चालक गोदावरी नगरपालिका१ का ३१ बर्षिय समिर सिजापति रहेका छन् ।

प्रहरीका अनुसार बस कण्डक्टर भवानी घिमिरेबाट ४९.९५ ग्राम सुन र २६ हजार २ सय नगद सहित १ मोबाईल बरामद गरिएको छ । यसैगरी शैलेस्वरी सुनचाँदी पशलमा काम गर्ने राजु विकबाट ३ सय ४९.८७ ग्राम सुन र नगद ६ हजार ९ सय ५० तथा २ वटा मोबाईल बरामद गरिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अधिकारीले बताए । यसैगरी तेश्रा वयक्ति शैलेस्वरी सुनचाँदी गहनापशलका सञ्चालक समिर सिजापतिबाट ४९.९५ ग्राम सुन र १६ हजार ३ सय नगद बरामद गरिएको अधिकारीले बताए ।

प्रहरी प्रमुख अधिकारीका अनुसार सुरुमा बसका कण्डक्टर भवानी घिमिरे र सोही बसमा सवार राजु बिकलाई समातिएको थियो । दुई जनामाथी थप अनुसन्धान गर्दा सुनचाँदी गहनापशलका सञ्चालक समिर सिजापतिको समेत संलग्नता देखिएको हो ।

सुन सहित पक्राउ परेका बस कण्डक्टरमाथी अनुसन्धान गर्दा उनले शैल्यस्वरी सुनचाँदी गहना पशलबाट सुनको बाला ल्याएको भन्ने वयान दिएका थिए प्रहरी उपरिक्षक आधिकारीले भने–‘सोही आधारमा सुनचाँदी गहना पशलमा छानविन गर्दा थप अवैध सुन भेटिएको हो ।

उनिहरुको साथबाट कतार दोहोको विल भएपनि विलमा भएको नाम र सुनवाला वेक्तिको नाम भने नमिलेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

उनले बसका कण्डक्टर र सुनचाँदी गहनापशलका सञ्चालक विचको सम्बन्ध  नखुलेको बताए । इलाका प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम अपराध अनुसन्धान प्रहरी समुहको संयुक्त टोलीले उनिहरुलाई समातेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएकोछ  ।