धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पहिरोको उच्च जोखिममा विद्यालय

पहिरोको उच्च जोखिममा विद्यालय

धनगढी । विद्यालय भवन रहेको स्थान मुनीबाट पहिरो खसेपछि बझाङको केदारस्युँ गाउँपालिका६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्याल बस्न नसकिने अवस्थामा पुगेको छ ।

पहिरोका कारण विद्यालय भवन समेत खस्ने खतरा बढेको स्थानीय बताउँछन् । विद्यालय भवन अगाडीको मैदान पहिरोमा परेर भाँसिसक्यो विद्यालयका प्रधानाध्यापक मानबहादुर धामीले भने–‘भवन पनि उच्च जोखिममा परेको छ, यस्तोमा विद्यार्थी राखेर पठनपाठन गर्न सक्ने अवस्था छैन ।

बझाङमा दुई साता अघि भएको अविरल वर्षा पछि विद्यालयको मैदाननै भाँसिने गरी पहिरो खसेको उनले बताए । साउन १२ गते राति भएको अविरल बर्षाका कारण रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान धामीले बताए । भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको उनले बताए । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २ सय ३५ विद्यार्थी अध्ययनरत छन् ।

वडाध्यक्ष काशीराम धामीले भने विद्यालयको सो समस्या पुरानै भएको बताए । पहिरो थाम्न २० लाखको ग्याबिन तारमा ढुंगा समेत राखिएको थियो उनले भने–‘तर पनि विद्यालयलाई सुरक्ष्ति बनाउन सकिएन, अव सो विद्यालयमा पठनपाठन गर्नु वातावरण छैन ।

पहिरोका कारण गाउँका २० परिवारको खेत समेत पुरिएको उनले बताए । उनले अन्य ठाउँमा विद्यालय भवन बनाउन जग्गाको खोजि भइरहेको बताए । जग्गा पाए चाँडै नै अन्यत्र विद्यालय भवन बनाउने योजना रहेको वडाध्यक्ष धामीले बताए ।