धनगढी पोष्ट
शुक्रबार, २९ साउन २०७८ मा प्रकाशित
धनगढी । जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको घटनामा जोडिएका पाँच जना प्रहरी निलम्बनमा परेका छन् ।
धनगढी उपमहानगरपालिका ३ मिलनचौकमा रहेको एएफसी होटलमा जुवा खेलिरहेको बेला छापा मार्ने घटनाको अनुसन्धानका लागि गठित समितिको सिफारिशका आधारमा उनीहरु निलम्बनमा परेका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले जुवा प्रकरणमा जोडिएका पाँच जना प्रहरीलाई निलम्बन गरिएको बताए ।
निलम्बनमा पर्नेमा प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी हवल्दार नैना चन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेम सिंह धामी र जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्ण प्रसाद जैसी र राम सिंह कुवँर रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयले गठन गरेको प्रहरी बरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वको टोलीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।